काठमाडौं / बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ ।
कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो ।
- ADVERTISEMENT -

बर्दियाको बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा बिहान करिब ६ः५० बजे गुडिरहेको अवस्थामा हाइसमा एक्कासी आगो सल्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
‘कोहलपुरबाट कैलाली जाँदै गरेको ईभी हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो,’ डीएसपी बोहराले भने, ‘गाडीमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति हुन पाएन ।’
उक्त हाइस कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । गाडीमा चालक र सहचालकबाहेक अन्य यात्रु नरहेकाले ठूलो दुर्घटना र मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गाडीमा रहेका सवारी कागजात तथा नगद ४२ हजार रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले जानकारी दिए ।
आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नभएको र सडक नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।


















































