एजेन्सी / पाकिस्तानले बिहीवार बिहान अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेल्मण्डलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि दुई देशबीचको सीमावर्ती तनाव उत्कर्षमा पुगेको छ ।
अफगानी अधिकारीहरूले आक्रमणमा परी नौ सर्वसाधारणको मृत्यु भएको र ११ जना घाइते भएको जनाएका छन् भने पाकिस्तानले भने आफ्नो कारबाहीमा २२ जना लडाकु मारिएको दाबी गरेको छ ।
- ADVERTISEMENT -

अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीवार पत्रकार सम्मेलनमार्फत पाकिस्तानी सेनाले सीमापारिबाट गरेको आक्रमणमा सर्वसाधारणको घरसमेत क्षतिग्रस्त भएको जानकारी दिएका छन् ।
उनले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मान्यता र सार्वभौमसत्तामाथिको प्रहार तथा अपराधको संज्ञा दिएका छन् । उता, हेल्मण्ड प्रान्तका गभर्नरका प्रवक्ता मोहम्मद कासिम रियाजले पनि उक्त प्रान्तमा हवाई आक्रमण भएको पुष्टि गरेका छन् ।
अर्कोतर्फ, पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त सैन्य कारबाही आफ्नो आतङ्कवाद विरोधी अभियानको हिस्सा भएको दाबी गरेको छ ।
मन्त्रालयका अनुसार, सीमापारि रहेका लडाकुहरूको आश्रयस्थल र उनीहरूको हतियार भण्डारलाई लक्षित गरी ’विश्वसनीय सूचना’ का आधारमा उक्त कारबाही गरिएको हो । पाकिस्तानले आफ्नो कारबाही लडाकुहरूको भौतिक पूर्वाधारमा मात्र केन्द्रित रहेको र सर्वसाधारणको क्षति हुन नदिन पर्याप्त सावधानी अपनाइएको स्पष्ट पारेको छ ।
हाल दुवै देशले आ–आफ्ना दाबीहरू सार्वजनिक गरे पनि स्वतन्त्र स्रोतबाट यी विवरणहरूको पुष्टि हुन सकेको छैन । सीमा क्षेत्रमा लामो समयदेखि बढ्दै गएको सुरक्षा चुनौती र दुई देशबीचको बढ्दो अविश्वासका कारण यो घटनाले क्षेत्रीय सुरक्षामा थप जटिलता निम्त्याउने देखिएको छ ।

















































