भरतपुर । चितवनमा दोस्रो नारायणी महोत्सवलाई भव्य र आकर्षक बनाउने तयारी तीव्र पारिरहेका महोत्सव आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.ले नारायणी नदी किनारको पुनःस्थापना तथा व्यवस्थापनमा ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । आउँदो महिनाको मंसिर २ गतेदेखि १७ गतेसम्म हुन गइरहेको महोत्सवको मुख्य आकर्षणका रूपमा ६० फिट अग्लो पिरामिड शैलीको प्रवेशद्वार निर्माण गर्ने तयारी गरिएको छ ।
भदौ १० गते आएको भोटेकोशीको बाढीबाट क्षतिग्रस्त नारायणी नदी किनारको सरसफाइ, सम्याउने तथा पुनःस्थापनाको काम रेड रक इभेन्ट्सले आफ्नै लगानीमा अघि बढाएको हो । प्रारम्भिक अनुमानअनुसार नदी किनार व्यवस्थापनका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने प्रा.लि.का अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।
अध्यक्ष क्षेत्रीले पत्रकारहरूसँग आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित निकायबाट आवश्यक पूर्वस्वीकृति र समन्वयका आधारमा महोत्सवको तयारीसँगै नदी किनार व्यवस्थापनको काम भइरहेको बताए ।
सार्वजनिक प्रयोगमा आउने नदी किनारलाई निजी क्षेत्रले आफ्नै लगानीमा व्यवस्थित गर्न खोज्दा सहयोग र प्रोत्साहन हुनुपर्नेमा विभिन्न आरोप तथा विरोधका अभिव्यक्ति आउनु दुःखद भएको उनले बताए । नारायणी नदी किनारलाई सधैँ अव्यवस्थित अवस्थामा छाड्ने कि दीर्घकालीन योजनासहित संरक्षण र व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ छ ।
- ADVERTISEMENT -


६० फिट अग्लो पिरामिड शैलीको प्रवेशद्वार बनाइँदै
दोस्रो नारायणी महोत्सवलाई यसपटक थप भव्य र विशिष्ट बनाउने तयारी गरिएको छ । महोत्सवस्थलमा करिब ५० फिट चौडाइ, ६० फिट उचाइ र ५० फिट गहिराइको पिरामिड शैलीको आकर्षक प्रवेशद्वार निर्माण गर्न लागिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
विशाल र कलात्मक स्वरूपमा निर्माण गरिने उक्त प्रवेशद्वार महोत्सवको मुख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ । यसले महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै महोत्सवलाई छुट्टै पहिचान दिने विश्वास गरिएको छ ।
महोत्सवलाई व्यापारिक मेलामा मात्र सीमित नराखी स्थानीय व्यापार, पर्यटन प्रवर्द्धन तथा चितवनको पहिचान विस्तार गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको उनले बताए ।
चितवनको पर्यटन सौराहासँग जोडिएजस्तै नारायणी नदी किनारलाई पनि व्यवस्थित, सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको विश्वास छ ।
नदी किनारको पुनःस्थापना र महोत्सवको आयोजनालाई सँगसँगै अघि बढाइएको यस पहलले नारायणी तटीय क्षेत्रको सौन्दर्यीकरण, स्थानीय व्यापारिक गतिविधिको विस्तार र चितवनको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
















































