April 30, 2024

घुस प्रकरणमा महानगरका इन्जिनियरसहित तीन पक्राउ

April 17, 2024
Sketch.

पोखरा / पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।

महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा बराललाई पक्राउ गरिएको हो ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

सोही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाएको जनाइएको छ ।

तीमध्ये सव–इन्जिनियर रोकाया पोखरा–५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज पोखरा–४, सेल्वेजबाट पक्राउ परेका थिए ।

घुससहित पक्राउ परेकी सव–इन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ । गोदार इन्जिनियरिङ कन्सल्टेन्सी पोखरा महानगरमै लामो समयदेखि कार्यरत इन्जिनियर महेन्द्र गोदारले सञ्चालन गरेका हुन् ।

सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी घुस प्रकरणमा पक्राउ परेका हुन् ।

उनीहरुले पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै पटक–पटक घुस लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -