नारायणगढ / जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विष्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो ।
केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ । सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन ९मापसे० र लागुऔषध सेवन ९लापसे० गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ ।
- ADVERTISEMENT -

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले लागूऔषध र विष्फोटक पदार्थका रूपमा प्रयोग हुन सक्ने पटाकालगायत सामग्रीको ओसारपसार नियन्त्रण गर्न चेकिङ गरिएको बताए । उनले चेकजाँचमा तालिमप्राप्त कुकुर ९केनाइन० टोली परिचालन गरिएको जानकारी दिए ।
उनले भने, “हाम्रो केनाइन ९तालिमप्राप्त कुकुर० टोलीले विष्फोटक पदार्थ र लागूऔषध बोकेर आएको चिजलाई नियन्त्रण गर्न सकोस् र अपराध गर्नेहरू निरुत्साहित हुन्, आम नागरिकले सुरक्षित छौँ भन्ने महसुस गरून् भन्ने लक्ष्यका साथ काम गरेका छौँ ।”
- ADVERTISEMENT -

जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाले चाडपर्वका समयमा गन्तव्यमा छिटो पुग्ने हतारोमा चालकले तीव्र गतिमा सवारी चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न एकीकृत रूपमा चेकजाँच भइरहेको बताए । लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुसँग बढी भाडा लिने, शङ्कास्पद सामग्री ओसारपसार गर्ने, अमर्यादित व्यवहार गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि निगरानी बढाइएको उनले जानकारी दिए ।
उनका अनुसार तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिएको छ । केन्द्रीय बसपार्क, पोखरा बसपार्क, पुल्चोकलगायत यात्रुको आवतजावत बढी हुने स्थान तथा जिल्लाका विभिन्न नाकामा आकस्मिक चेकजाँच भइरहेको उनले बताए ।
चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न चालक र सहचालकलाई सचेत गराउनुका साथै यात्रुलाई सजग गराइएको प्रहरीले जनाएको छ ।














































