चितवन / भरतपुर विमानस्थल परिसरमा सरसफाइ, शौचालय व्यवस्थापन तथा पूर्वाधारको अवस्था अस्तव्यस्त रहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ।
विमानस्थलभित्रका शौचालय दुर्गन्धित हुनु, नियमित सरसफाइ नहुनु, परिसरको सौन्दर्यीकरणमा ध्यान नदिइनु तथा समग्र व्यवस्थापन कमजोर रहेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको हो।
- ADVERTISEMENT -

चितवन क्षेत्र नं। ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष सर्वसाधारणले विमानस्थलको अवस्थाबारे गुनासो गरेका थिए। मन्त्री गौतमले यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएपछि मन्त्रीसहित प्रशासनको टोलीले विमानस्थल परिसरको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि विमानस्थलका कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधारका काम अघि बढाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। उनका अनुसार विमानस्थल परिसरको समग्र अवस्था सुधार गर्नुपर्ने देखिएकाले सम्बन्धित पक्षलाई आवश्यक सुधार गर्ने प्रतिबद्धता गराइएको छ।
- ADVERTISEMENT -

प्रमुख जिल्ला अधिकारी अर्यालले विमानस्थलको पूर्वाधार, सरसफाइ तथा कर्मचारीको नियमित उपस्थितिसम्बन्धी समस्या पनि देखिएको बताए। यसअघि पनि विमानस्थल परिसरमा पार्किङ व्यवस्थापनलगायतका विषयमा पटकपटक गुनासो आउने गरेको थियो।
अर्यालका अनुसार आफू चितवन आएपछि पछिल्लो १५ महिनामा कार्यालय प्रमुखहरूको बैठकमा विमानस्थलका प्रमुख विक उपस्थित नभएकाले त्यहाँका समस्या पहिचान गरी समाधानका लागि आवश्यक समन्वय गर्न कठिनाइ भएको थियो। गुनासो बढेपछि मन्त्रीसहित स्थलगत अनुगमन गरी सुधारका लागि निर्देशन दिइएको उनले जानकारी दिए।
भरतपुर विमानस्थलबाट बुद्ध एयरले काठमाडौंका लागि दैनिक सातवटा उडान गर्दै आएको छ। विमानस्थलबाट दैनिक करिब ८०० यात्रु आवतजावत गर्ने गरेका छन्। यात्रु प्रतीक्षाकक्षको शौचालयबाट दुर्गन्ध बाहिरसम्म फैलिने गरेको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो।
विमानस्थलका कार्यालय प्रमुख विकले केही कमजोरी रहेको स्वीकार गर्दै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। अनुगमनपछि सुधारका काम सुरु गरिएको उनको भनाइ छ। सडक अवरुद्ध हुँदा यात्रुको चाप बढेकाले व्यवस्थापनमा अपेक्षित ध्यान दिन नसकिएको उनले बताए।
प्रशासनको निर्देशनपछि विमानस्थलको सरसफाइ, शौचालय व्यवस्थापन र समग्र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।















































