एजेन्सी / अफगानिस्तानको पश्चिमी हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा भीषण आगलागी हुँदा इन्धन बोकेका १८ वटा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घटनामा अन्य तीनवटा ट्याङ्करमा पनि क्षति पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीवार जानकारी दिएको छ ।
उक्त आगलागीले निकै विकराल रूप लिएको थियो । सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिएको अग्नि नियन्त्रक टोलीले कडा परिश्रमपछि आगोलाई नियन्त्रणमा लिएको छ । समयमै नियन्त्रण प्रयास गरिएका कारण आगोलाई थप फैलिनबाट रोक्न सकिएको अधिकारीहरूले बताएका छन् ।
- ADVERTISEMENT -

हालसम्म आगलागीको यकिन कारण खुल्न सकेको छैन । घटनापछि सुरक्षाकर्मी र विपद् व्यवस्थापन टोली घटनास्थलमै रहेर परिस्थितिको निगरानी गरिरहेका छन् भने क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ ।
हेरात शहरबाट करिव १२० किलोमिटरको दूरीमा अवस्थित इस्लाम काला नाका अफगानिस्तान र इरानबीचको प्रमुख स्थल मार्ग हो । व्यापारिक र पारवहनको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यो नाकाबाट दैनिक हजारौं यात्रु र ठूलो परिमाणमा मालसामानको आवतजावत हुने गर्छ । पछिल्लो घटनाले यस क्षेत्रको आपूर्ति व्यवस्थामा केही समय अवरोध पुग्ने देखिएको छ ।

















































