चितवन / दर्शकको उत्साहजनक सहभागिताका बीच नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (मंगलबार) चर्चित राष्ट्रिय कलाकारद्वय समिक्षा अधिकारी र रेनु राना मगरले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
महोत्सवका कार्यक्रम संयोजक प्रकाश भुजेलका अनुसार महोत्सवको छैटौँ दिन आज समिक्षा र रेनुले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । उनीहरूको प्रस्तुतिले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकार तथा आदिवासी जनजातिका विविध सांस्कृतिक प्रस्तुतिसमेत जारी रहनेछन् ।
सोमबार महोत्सवमा सञ्जीव सिंह राना र लक्ष्मी तामाङले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । यस्तै, साँझ ५ देखि ९ बजेसम्म आयोजित ‘चितवन म्युजिक फेस्ट’मा कुटुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्टले दर्शकलाई झुमाएको थियो ।
- ADVERTISEMENT -

चिसो सिरेटोका बीच पनि महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिसँगै मनोरञ्जनात्मक खेल, व्यापारिक तथा खानाका स्टल र विभिन्न आकर्षणले महोत्सवमा दर्शकको चहलपहल बढाएको आयोजकले जनाएको छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा विभिन्न व्यापारिक स्टलसँगै बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र आकर्षक पिरामिड गेट मुख्य आकर्षणका रूपमा रहेका छन् । बाढीका कारण क्षतिग्रस्त बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरेको हो ।
आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार र आर्थिक गतिविधि प्रवर्द्धन गर्ने साझा अवसरका रूपमा लिएको जनाएको छ ।
















































