April 20, 2025

सबैखाले भ्रष्टाचार रोकौँ

January 8, 2025
- ADVERTISEMENT -

हरेक वर्ष डिसेम्बर ९ तारिखलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका रुपमा मनाइँदै आएको छ । विश्वभर सबैखालका भ्रष्टाचार न्यूनीकरण गर्न सचेतना अभिवृद्धि गराउँदै यो दिवस मनाउने गरिन्छ । नेपालमा भ्रष्टाचार न्यूनीकरण हुनुभन्दा बढोत्तरी भइरहेको छ । सरकारी कार्यालय नै भ्रष्टाचारका अखडा बन्दै गइरहेका छन् । हरेक क्षेत्रमा बेथिति र अनियमितता व्याप्त छ । जनताले विश्वास गरेका र समाजले पत्याएकाहरु नै कालान्तरमा भ्रष्टाचारी घोषित हुने प्रवृत्ति हाबी छ । नेपाली समाजमा भ्रष्टाचार एउटा रोगकै रुपमा विकसित भइरहेको छ । अकुत सम्पत्ति कमाउने र अस्वाभाविक सम्पत्ति थुपार्नेहरुको आम्दानीको स्रोत खोज्नुभन्दा त्यस्ता व्यक्तिलाई नै पुज्ने संस्कारका कारण भ्रष्टाचार दिनानुदिन बढ्दै गइरहेको छ ।

नेपालमा सम्पत्ति शुद्धीकरण एउटा देखावटी प्रक्रियाजस्तै बनिरहेको छ । सरकारी उच्च ओहोदामा रहेकाहरुले जसरी कमाए पनि त्यस्तो सम्पत्तिको छानबिन विरलै हुने गरेका छन् । विधिको शासन र सबैका लागि ऐन कार्यान्वयन हुने हो भने भ्रष्टाचारमा नेता, उच्च पदस्थ र शासकहरु नै बढी दोषी ठहरिनेमा कुनै शंका छैन । भ्रष्टाचार एउटा सामाजिक अपराध हो भन्ने कुराको बोध हुन सकेमात्रै भ्रष्टाचारविरुद्धको दिवस मनाउनुको पनि औचित्य पुष्टि हुनेछ ।

अहिले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । राष्ट्रसेवक कर्मचारीहरु आमनागरिकभन्दा औसतरुपमा बढी सम्मानित र मर्यादित मानिन्छन् । किनभने, उनीहरुबाट समाज र सिंगो मुलुकले तोकिएको सेवा र कर्तव्यभन्दा पनि बढी योगदानको अपेक्षा राखेको हुन्छ । तर, सम्मानित पदमा रहेर पनि लोभले गाँजेपछि त्यस्ता व्यक्तिहरु अपराधीसरह ठहरिन्छन् । नेपालमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सत्तासिनहरुले नै राष्ट्रदोहन गर्दै आएका छन् । राष्ट्रका लागि योगदान दिएका भनिएकाबाटै आफन्त, परिवार, नातागोता, कार्यकर्ताका नाममा सिंगो राष्ट्रले घाटा बेहोर्नुपरेको हुन्छ ।

हरेक सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेको भनिन्छ । तर, राष्ट्रदोहनको श्रृंखला अझैसम्म रोकिएको छैन । सिंगो राष्ट्रको लागि गर्व गर्नलायक राजनीतिक नेतृत्व यो देशले पाउन नसक्नु अर्को विडम्बना मान्न सकिन्छ । अरुले गरेको अनियमिततालाई भ्रष्टाचार देख्ने र आफूले गरेका लुटलाई सामान्य ठान्ने चरित्र सुधार नभएसम्म त्यो राष्ट्रकै लागि लज्जाबोध हुन्छ । पछिल्लो समय अख्तियारले आर्थिक अनियमितता गर्नेलाई ठेगान लगाउन भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्दै आएको छ । यो सकारात्मक छ । समाजमा अवैधरुपमा सम्पत्ति कमाउनेहरुको कमी छैन । छिट्टै कमाउने लालसामा जसले पदीय मर्यादा र ख्यातिको ख्याल गर्दैन, ऊ एकदिन अवश्य अख्तियारको फन्दामा पर्ने विभिन्न दृष्टान्तले पुष्टि गरिसकेका छन् । गरिब जनता र राष्ट्रमाथि सबैखाले भ्रष्टाचार गर्ने नैतिक हरामहरुलाई अख्तियारले तह लगाउनु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -