बर्खायाम सुरू भएसँगै डेंगु तथा अन्य पानीजन्य सरुवा रोगहरू तीव्र रूपमा फैलिन थालेको छ । हाल ७३ जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ, जसमध्ये बागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएका छन् । इपिडिमियोलोजी महाशाखाका अनुसार एक दशकको तथ्याङ्कलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सङ्क्रमण नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०२० मा धरानबाट फैलिएको डेंगुबाट १२ जनाको मृत्यु भएको थियो । २०२२ मा डेंगु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । त्यस वर्ष ८८ जनाको ज्यान गएको थियो । सन् २०२३ मा कोसी प्रदेशमा यस रोगले विष्फोटक रूप लिँदा २० जनाको मृत्यु भयो । त्यस वर्ष ५२ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । गत वर्ष ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
चितवनमा १५ बढी जिल्लाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगु सङ्क्रमण पुष्टि हुँदा एक जनाको ज्यान गएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले कीटजन्य रोग डेङ्गु, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस, कालाजार, भाइरल ज्वरो र दूषित पिउनेपानीका कारण हुने टाइफाइड, झाडा पखालाजस्ता सरुवा रोगको प्रकोप बढ्दै गैरहेकोले सचेतना अपनाउन अनुरोध गरेको छ । लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न, आफ्नो घर वरिपरि झाल्डाखुल्डी पुर्न र झाडी सफा गर्न, सुत्दा अनिवार्यरुपमा झुलको प्रयोग गर्न तथा लामो बाहुला भएको कपडा लगाउन, घरको झ्यालढोकामा जारी प्रयोग गर्न, सुंगुर, बंगुर र हाँस व्यवस्थित तरिकाले पाल्न पनि अनुरोध गरिएको छ । नेपालमा बढ्दो अव्यवस्थित सहरीकरण र त्यसबाट उत्पादित फोहरका कारण लामखुट्टेको बढ्दो विकासले यस्ता रोगको जोखिम बढाएको हो । काठमाडौँ, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा बढ्दो जनसंख्यासँगै कीटजन्य रोगको जोखिम पनि उच्च छ ।
- ADVERTISEMENT -

लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र लक्षण देखिन्छन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, सम्पूर्ण शरीर वा जोर्नी दुख्ने, राता बिमिराहरू आउने लक्षण देखिन्छन् । समस्याले गाल्दै गएमा रक्तअल्पतासमेत हुन पुग्ने विज्ञको भनाइ छ । समयमै रोग नियन्त्रणका लागि कार्यक्रम नचलाउने हो भने यी रोग महामारीका रुपमा कुनै पनि समय फैलने खतरा रहेको कीटविज्ञले जनाएका छन् । बढ्दो गर्मीसँगै लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय रहेको चिकित्सकहरु बताउँछन् । डेंगु रोगविरुद्ध सरोकारवाला निकायले अभिमुखीकरण कार्यक्रम गरी खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्ने समय आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष नेपालभर डेंगु सङ्क्रमणका कारण ६० हजार बढी बिरामी हुन सक्ने अनुमान सार्वजनिक गरेको छ । रोग फैलनुअगावै स्थानीय तहर सरोकारवाला निकायहरु डेङ्गुको प्रकोप नियन्त्रणमा जुट्नु आवश्यक देखिएको छ ।


















































