चितवन / राइनो क्लब नारायणगढले स्वास्थ्य र खेलकुदको प्रवद्र्धन तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आगामी कात्तिक १४ गते पाँच किलोमिटर दूरीको राइनो दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता बिहान ८ बजे गैंडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लिलाचोकमा पुगेर समापन हुने शनिबार पत्रकार सम्मेलन मार्फत् कार्यक्रम संयोजक महेश प्रधानले जानकारी दिए ।
कार्यक्रम संयोजक प्रधानले प्रतियोगितामार्फत युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको बताए । प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन दुई सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेतालाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ । त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दूरी पूरा गर्ने ५० वर्षमाथिका भेट्रान धावकलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।
- ADVERTISEMENT -

प्रतियोगितामा सहभागी धावकको सुरक्षालाई ध्यानमा राख्दै एम्बुलेन्स, प्राथमिक उपचार तथा स्वयंसेवकको व्यवस्था गरिने कार्यक्रम सहसंयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिए । दौड सञ्चालन हुने मार्गमा यातायात व्यवस्थापनका लागि सम्बन्धित प्रहरी तथा स्थानीय निकायसँग समन्वय गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कात्तिक १ गतेदेखि १२ गते बेलुका ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन् । नारायणगढको श्रीया कोल्ड स्टोर, क्षेत्रपुरस्थित राइनो फिटनेस सेन्टर र लायन्सचोकस्थित शुभ पेट्रोलपम्पबाट दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
नारायणगढ क्षेत्रमा लामो समयदेखि खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको राइनो क्लबले प्रतियोगिताले युवामा अनुशासन, स्वस्थ जीवनशैली र खेलकुदप्रतिको भावना विकास गर्न तथा सामाजिक सद्भाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
















































